३० औँ अन्तर्राष्ट्रिय १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान
३० औँ अन्तर्राष्ट्रिय १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान
- अन्तर्राष्ट्रिय १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान अन्तर्राष्ट्रिय वार्षिक अभियान हो । यो अभियान हरेक वर्षको नोभेम्वर २५ देखि डिसेम्वर १०( अन्तर्राष्ट्रिय मानव अधिकार दिवस ) सम्म समुदाय स्तर देखि सवै तहमा विभिन्न कार्यक्रम गरि मनाइन्छ ।
- यसको सुरुवात सन् १९९१ मा Centre for womens global leadership नामक संस्थाको सहयोगमा विभिन्न २३ देशका महिला अधिकारकर्मी समुहले गरेको थियो ।
- हाल ३० औँ अन्तर्राष्ट्रिय १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान मनाइदै छ ।
- यसको सन्दर्भ डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन साहसी दिदी बहिनीहरु पेट्रिया, मिनर्भा र मारियाको तत्कालिन त्रुजिलो तानाशाही सरकारले सन् १९६० नोभेम्वर २५ मा गरेको हत्यासँग सम्वन्धित छ । त्यसैले यसलाइ ल्याटिन अमेरीकी देशमा महिला हिंसा विरुद्धको दिवसको रुपमा मनाउन थालिएको हो । पछि सन १९९९ मा संयुक्त राष्ट्रसंघ द्धारा यसलाइ आत्मसाथ गरी नोभेम्वर २५ को दिनलाइ संसार भर नै महिला हिंसा अन्त्यको लागि अन्तर्राष्ट्रिय दिवसको रुपमा स्थापिग गरियो ।
- सन् १९९१ मा नै क्यानडाका युवाहरुले सेतो रिवन बाँधेर यो दिवस “म हिंसा सहन्न,आफुपनि गर्दिन, र देखेमा प्रतिकार गर्छु” भनी सेतो रिवन अभियान संचालन गरेका थिए ।उक्त समयदेखि सेतोरिवनलाई लैंगिक हिंसा विरुद्ध प्रतिवद्धताको प्रतीकको रुपमा प्रयोग गर्दै आएको पाईन्छ ।
- लिखित इतिहासलाइ नियाल्दा नेपालमा महिला विरुद्ध हुने हिंसाका सम्बन्धमा आवाज उठाउने प्रथम महिला योगमाया न्यौपाने हुन् । वि सं १९२५ मा नेपालको पुर्वी पहाडको भोजपुरमा जन्मिएकी उनले तत्कालिन नेपाली समाजमा महिलामाथि हुने गरेका अन्याय, अत्याचार र कुसंस्कारको विरुद्ध सामाजिक परिवर्तन र महिला अधिकारको लागि सशक्त रुपमा आवाज उठाएकी थिइन । उनले समाजमा रहेका पितृसत्तात्मक सोँच, सामाजिक मुल्य मान्यता, शोषण र लैंगिक विभेद विरुद्ध अभियान सञ्चालन गर्दा गर्दै वि सं १९९८ मा आफ्ना अनुयायी सहित परिवर्तनका लागि खवरदारी गर्दै जलसमाधि लिएकी थिइन ।
- १६ दिने अभियानको शुरुवात नेपालमा वि सं २०५४ सालदेखि भएको पाईन्छ र यस अवधिमा विविध महिला विरुद्ध हुने हिंसाका सवालमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरी मनाउँदै आएको छ ।तथापि नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक बर्ष सवै स्थानीय पालिका, प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको थियो ।