✅आज कुकुर तिहार वा नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन हो । यस दिन कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिने गरिन्छ ।
✅कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ। कुकुर यमराजको अर्को प्रिय भक्त हो। मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको धर्मशास्त्रमा उल्लेख छ ।कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।
✅कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ। कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ। त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ। कुकुरलाई भैरवको बाहन पनि भनिन्छ।
✅प्राचिन कालदेखि नै मानवजातीसँग प्रगाढ र बलियो सम्बन्ध भएको जीवको रुपमा मानिने कुकुरको पूजाआजा गरिन्छ । हिन्दू धर्ममा कुकुरलाई आज्ञापालक र बफादार मानेर विशेष स्थान दिइएको छ ।
✅ऋगवेदमा देवकुकुर्नी शरमाले इन्द्रको दूत बनेर असुर व्यापारीहरूसित वार्ता गरेको प्रसङ्ग छ । यस्तै अर्को पौराणिक प्रसङ्गमा शरमाका छाउरालाई सानो गल्तीका कारण यज्ञकर्ताहरूले कुटेकाले कुकुर्नीले उनीहरूलाई श्राप दिएको प्रसंग उल्लेख छ । यस्तै महाभारतमा पाण्डवहरू स्वर्ग जाने बेलामा युधिष्ठिरले आफ्नो कुकुरलाई पनि सँगै लिएर स्वर्ग गएको कथा छ । उक्त कथामा कुकुरलाई यमराज वा धर्मराजकै स्वरूपको रुपमा वर्णन गरिएको छ ।
✅कुकर तिहारको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिसले यमराजबाट दण्ड पाँउछन् भन्ने विश्वास रहि आएको छ ।
✅आजका दिन मासको पात खाने चलन छ । लिङ्ग पुराणअनुसार यस दिन मासको पातको साग खानाले मानिसको सबै पाप नास हुन्छन् भन्ने जनश्रुति पाइन्छ ।
✅कुकुर तिहारको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यो दिन सबै पाप नाश गर्न नर्के नुहाउने चलन रहेको छ ।