काग तिहारको धार्मिक महत्त्व
▪️▪️▪️▪️▪️▪️▪️▪️▪️
👉️काग तिहार वा कागपूजा कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीयासम्म पाँच दिन मनाइने तिहार पर्वको पहिलो दिन हो । यस दिन कागको पूजा गर्ने गरिन्छ । काग अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा-फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि मानिन्छ । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषण, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् ।
👉️काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । त्यसैले कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । यस दिनमा विहानैदेखि कागको पूजा गरिन्छ, घरवाहिर पात या दुना टपरीमा विभिन्न खाना राखेर कागलाई खान दिइन्छ ।
👉️हिन्दू धर्मशास्त्रका अनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरुको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण पृथ्वीलोकमा ल्याउने र लैजाने काम भने कागले गर्छ भन्ने धार्मिक मान्यता रहेको छ । काग तिहारको दिनमा कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा यसले वर्षभरि आफ्नो घरमा दुःखद सन्देश ल्याँउदैन भन्ने विश्वास रहेको छ ।
लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।
👉️यसले पर्यावरण स्वच्छ राख्न पनि महत्वपूर्ण भूमिका निभाउँछ । मानवसभ्यता र प्रकृतिसँग जोडिएको पन्छी कागको पूजा गर्नुलाई मानिसले प्रकृतिमा रहेका जीवजन्तुलाई गर्ने प्रेम र सम्मानको रुपमा पनि बुझ्न सकिन्छ ।
👉️“काकेन दधि भक्षितम्” अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको छ । यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।
👉️दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने बिहीबार साँझदेखि नै शुरु भएको छ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यमदीपदानसहित यमपञ्चक भने बिहीबार बेलुकीदेखि नै शुरु भएको छ ।