१ . नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले सुरु गरेको ठानिन्छ। २ यो पर्व मनाउने क्रममा गाईजात्रालाई कृषि र प्रकृतिसँग पनि जोड्ने गरिएको जानकारहरू बताउँछन्। ३ हिन्दू धर्ममा गाई पवित्र जनावर हो। दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठिउँमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ। मृतकको आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो। ४ नेवारी भाषामा यो पर्वलाई 'सापारू' भनिन्छ। 'सा' को अर्थ गाई र 'पारू' को अर्थ प्रतिपदा तिथि हो जुन दिन यो चाड मनाइन्छ। गाईजात्रा मनाउने क्रममा वर्षभरि ज्यान गुमाएका आफन्तहरूको सम्झनामा विम्ब खडा गर्ने परम्परा छ। अभिलेखहरूले नेपालमा लिच्छविकालदेखि नै गाईलाई उच्च महत्त्व दिने गरिएको देखाएको छन्। मध्यकालीन धार्मिक, सांस्कृतिक जीवनमा अलौकिक शक्तिको महत्त्व बढेसँगै चाडका रूपमा गाईजात्राको महत्त्व पनि बढेको थियो। लिच्छविकालको अभिलेखमा साँढे जुधाएर गरिने जात्राको उल्लेख भएको हामी पाउँछौँ। अंशुवर्माको मुद्रामा दूध चुसिरहेको बाच्छो देखाइएको छ। त्यसले हाम्रो धार्मिक सांस्कृतिक जीवनमा गाईको महत्त्व कति छ भन्ने देखाउँछ। करिव ६०० वर्षअघिको गोपालराज वंशावलीमा 'सायात' भन्ने शब्द उल्लेख गरिएको थियो जसमा 'सा'को अर्थ गाई र 'यात' को अर्थ जात्रा हो। त्यसबाहेक भक्तपुर दरबार क्षेत्र परिसरमा रहेको जितामित्र मल्ल र भूपतिन्द्र मल्ल राजाका शिलालेखमा पनि यो जात्राको चर्चा गरिएको देखिन्छ। राजा प्रताप मल्लको पालामा आएर गाईजात्राको विधिविधान थपिदिएको हुनसक्ने विश्वास छ। अर्को धार्मिक आस्था के छ भने गाईजात्राको दिनमा गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्दा स्वर्गमा पुगिन्छ भन्ने मान्यता पनि छ। बाँचेकाहरूको भलो होस् र मरेकाहरूको पनि मोक्ष प्राप्ति होस् भनेर यो जात्रा मनाइन्छ । गाईजात्रा मनाउने क्रममा ज्यान गुमाएका व्यक्तिको सम्झनामा माटोको साँढे वा तहासाँ बनाएर नगर परिक्रमा गर्ने चलन रहँदै आएको छ। तहासाँ वा तहामचा भक्तपुरको गाईजात्राको विशेषता हो। बाँसमा फरिया बेरेको भए त्यो महिलाको र कपडा बेरेको भए त्यो पुरुषको तहासाँ भनेर बुझिन्छ। "त्यसको महत्त्वपूर्ण सन्देश चाहिँ यो एक प्रकारको मृत्यु गणना जात्रा पनि हो। परम्परागत सहरमा तपाईँ बस्नुहुन्छ भने वर्षभरिमा कति मान्छेले ज्यान गुमाए भन्ने गाई जात्रा घुमाउने बाटोमा दिनभरि तपाईँ ढुकेर बस्नुहोस् एकदमै निश्चित र प्रामाणिक तथ्याङ्क आउँछ।" भक्तपुरमा परालको भैरव र भद्रकालीको साथमा त्यस वर्ष मरेका व्यक्तिहरूको ताहासाँ प्रदर्शन गरिसकेपछि गाईजात्राको अन्तिम कार्यक्रम सकिन्छ । आठ दिनसम्म मनाइने यो पर्वमा विभिन्न डबली तथा चोकहरूमा प्रहसन, नाटक र मार्मिक कथाहरूमा प्रस्तुति दिने परम्परा भए पनि बिस्तारै त्यो लोप हुन थालेको भन्दै संस्कृतिकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। गाईजात्राको एक दिन अघि जनै पूर्णिमा पर्छ। त्यसै दिनबाट कृष्ण जन्माष्टमीसम्म उक्त पर्व मनाइन्छ। किसानहरू उक्त गाइजात्राको दिन भ्यागुतालाई खाना खुवाउन जाने गरेको चलन देखिन्छ । गाईजात्रा खेतीपाती र किसानसँग सम्बन्धित पर्व हो। रोपाइँ सकेर गोडमेल गरिसकेपछि साउन शुक्ल पूर्णिमादेखि अष्टमीसम्म आठ दिन मनाउने भनिएको छ। खेतमा काम गर्दा जति पनि कीराफट्याङ्ग्राहरू उनीहरूले मार्छन् त्यसको लागि क्षमायाचना गर्दै भ्यागुतालाई खाना खुवाउने गरिन्छ। कीराफटयाङ्ग्रा खाइदिने भएकाले भ्यागुता किसानको असल साथी भएको विश्वास गरिन्छ। नेवार समुदायको बसोबास रहेका देशभरिका सबैजसो ठाउँमा गाईजात्रा मनाइने गरेको छ। काठमाण्डू उपत्यकाकै विभिन्न सहरमा यो पर्व मनाउँदाका कतिपय फरक विशेषता छन्। त्यसमध्ये एउटा भक्तपुरको घिन्ताङ्घिसी नाच हो जुन अन्यत्रको गाईजात्रामा देखिदेन ।