गेहेन्द्रशमशेरका प्रमुख आविष्कारहरू
पानीमुनि बत्ती
जतिखेर नेपालमा बिजुलीको प्रचलन थिएन, त्यतिखेर गेहेन्द्रशमशेरले पानीमुनि बत्ती बाल्ने प्रविधिको विकास गरे । तैल इन्जिनको प्रयोगद्वारा डिसी डाइनामो चलाएर त्यसबाट उत्पन्न बिजुलीलाई जम्मा गरी अर्थात् ब्याट्री चार्ज गरी त्यसबाट लाइन जोडी उनले बिजुलीबत्ती बाले । यो बत्ती पानीमुनि पनि बाल्न सकिन्थ्यो । आजको जस्तो जलविद्युत् शक्तिको सहज उपलब्धता नभएको त्यस समयमा डाइनामो चलाएर भए पनि यसरी बिजुलीबत्ती बाल्नुलाई इतिहासकारहरूले ठूलै उपलब्धि मानेका छन् । स्मरण रहोस् नेपालको सबैभन्दा पहिलो फर्पिङ जलविद्युत आयोजना निर्माणको थालनीमा पनि उनकै महत्वपूर्ण योगदान मानिन्छ ।
धान कुट्ने कल
काठमाडौंको जमलस्थित त्रिभुवन विश्वविद्यालयको पुरानो परीक्षा नियन्त्रण कार्यालय रहेकोे भवन र त्यसवरपर फैलिएको दरबारलाई त्यतिखेर सेतो दरबार भनिन्थ्यो । जुन दरबार उनलाई आफ्ना पिता वीरशमशेरले पैतृक सम्पत्तिका रूपमा प्रदान गरेका थिए । त्यही सेतो दरबारको कम्पाउन्डभित्र गेहेन्द्रशमशेरले यस्तो कलको स्थापना गरेका थिए जुन कलले धान कुट्ने, पीठो पिस्ने, तोरी पेल्ने आदि गरिन्थ्यो । यस कलका निम्ति उनले सातवटा ब्रोइलर इन्जिनसमेत जडान गरेका थिए ।
छाला प्रशोधन कारखानाः
गेहेन्द्रशमशेरले काठमाडौंको बालाजुमा छाला प्रशोधन कारखाना पनि स्थापना गरेका थिए । यसबाट देशभित्रै काँचो छालालाई प्रशोधन गर्ने काम सम्भव भएको थियो । यस कारखानाले नेपालको औद्योगिक विकासमा समेत निकै महत्वपूर्ण थालनी गरेको मानिएको छ ।
हावा मिलः
इनारको पानीलाई तानी बाहिर ल्याउने यो मिल हावाको गतिले पंखालाई घुमाएका आधारमा चल्दथ्यो । त्यसै बहेर खेर जाने हावालाई उनले मानव जातिको उपयोगितामा लगाए । उनको यो प्रविधिलाई त्यतिखेर सेतो दरबारको कम्पाउन्डभित्र इनारको पानी बाहिर ल्याई बगैँचामा सिँचाइ गर्नसमेत प्रयोग गर्ने गरिएको थियो ।
गेहेन्द्र राइफल
गेहेन्द्रशमशेरका वैज्ञानिक उपलब्धि धेरैजसो तोप, बन्दुक, राइफल आदि हातहतियारको निर्माण र नयाँ प्रयोगमा नै केन्द्रित थियो । त्यतिखेर सरकारी सेनाको उपयोगका लागि पनि ती हतियारहरू प्रयोग हुने गर्दथे । यी हतियारहरूमध्ये एकथरी राइफललाई गेहेन्द्रशमशेरले आफ्नै नामबाट ‘गेहेन्द्र राइफल’ भनी नामाकरण पनि गरेका थिए । यो राइफलमा दुईनाले कार्टिज्स समावेश थियो । त्यतिखेर सैनिकहरूको अभ्यासको निमित्त यी राइफल वितरण गरिएका थिए ।
गे–गन
गेहेन्द्र शमशेरले एकथरी यस्तो तोप बनाएका थिए जुन तोपलाई बसेर पनि प्रहार गर्न सकिन्थ्यो । यसलाई उनले आफ्नै नामको सुरुको अक्षर गे बाट ‘गे–गन’ भनी नामाकरण गरेका थिए । यसको प्रमुख विशेषता के थियो भने प्रहार गर्दा यो पछाडि सर्दैनथ्यो । जब कि अरू तोपहरूमा गोली प्रहार भई छुटेर गएपछि गन जोडले पछाडि सर्ने गर्दथ्यो । तर, यो गे–गन चलाउँदा चलाउने मान्छेलाई गोली लाग्न नपाओस् भनी यसमा अगाडिपट्टि मान्छेको टाउको छेकिने गरी धातुको पातासमेत जडान गरिएको थियो । साथै यस गनको अर्को महत्वपूर्ण विशेषता के पनि थियो भने यसलाई केही डिग्री घुमाएर पनि प्रहार गर्न सकिन्थ्यो । यस हिसाबले यो गन आजको चौतर्फी प्रहार गर्न सक्ने आधुनिक ट्यांकरकै एउटा प्रारम्भिकस्वरूप थियो भनेर कतिपय इतिहासकारहरूले टिप्पणी गरेका छन् ।
वीर–गन
विसं १९५३ मा गेहेन्द्रशमशेरले अर्को दुईनाले तोप पनि बनाए । यसलाई उनले आफ्नाे पिता वीरशमशेरको नामसँग जोडेर ‘वीर–गन’ भन्ने नाम दिएका थिए । यसका दुवै नालबाट क्रमशः गोली चलाउन सकिन्थ्यो । यो पनि केही डिग्री घुमाएर प्रहार गर्न सकिने गरी बनाइएको थियो ।
धीर–गन र चारनाले तोप
आफ्नो बाजे धीरशमशेरको नाममा गेहेन्द्रशमशेरले विकास गरेको यो तोपको बारेमा इतिहासकारहरूले पर्याप्त जानकारी प्राप्त गर्न सकेका त छैनन्, तर पनि त्यस समयमा यो गन पनि गेहेन्द्रशमशेरको महत्वपूर्ण वैज्ञानिक उपलब्धिकै रूपमा रहेको मानिएको छ । यस्तै, उपलब्धिका रूपमा रहेको अर्को एकथरी तोपको बारेमा पनि कमै मात्र जानकारी प्राप्त छ ।
फोटोग्राफी
गेहेन्द्रशमशेर बहुआयामिक प्रतिभा भएका व्यक्ति थिए । संगीत, खेलकुद, चित्रकलादेखि लिएर फोटोग्राफीमा समेत रुचि भएका र तालिम लिएका उनले त्यतिखेरको नेपालका निम्ति नयाँ प्रविधिकै रूपमा रहेको फोटोग्राफीको क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका थिए । यस क्रममा उनले फोटोग्राफीका निम्ति प्रयोग हुने रसायन आफ्नै खर्चमा विदेशबाट मगाएका थिए । यसरी फोटोग्राफीको प्रयोग र विकास गरी उनले थुप्रै फोटाहरू बनाउने काम पनि गरेका थिए ।
यस्ता बहुप्रतिभाशाली नेपाली वैज्ञानिक गेहेन्द्रशमशेरको अन्ततः विसं १९६३ मा ३५ वर्षको अल्पायुमै अत्यन्त रहस्यमय ढंगले मृत्यु भयो । उनको मृत्युको कारणबारे वास्तविक रहस्य अझै खुल्न सकेको छैन । राजनीतिक र सैन्य प्रभावबाट आशंकित भएर उनको षड्यन्त्रपूर्वक हत्या गराएको हुन सक्ने केही इतिहासकारहरूले उल्लेख गरेका छन् ।